21 October 2009

गह्रौ होला भारी (गजल)

गह्रौ होला भारी मनको बिसाएर जाऊ
पयूँ फुल्ने गाउँको माया मिसाएर जाऊ

वसन्तमा फुल्ने पयूँ गाला उस्तै रिसाउदा
र त जाँदा अलि-अलि रिसाएर जाऊ

मौसम उस्तै खडेरीको उस्तै चर्को गर्मी
जाँदा-जाँदै सोलु फाप्लु चिसाएर जाऊ

भोलि कुनै शिकायती हुनु हुन्न हिड्दै जाँदा
संकोच भए मनमा आजै पिसाएर जाऊ

कुर्नु हुन्न भोलि भविष्यको के छ कर्म
लक्ष्य चुम्न आफैलाई घिसाएर जाऊ ॥

20 October 2009

दुई मुक्तक

आफ्नै आँगनको घाम नबेच
ओदान माथिको माम नबेच
बरु भोकमरीले सहिद बन-
पैसाकोलागि तिमी नाम नबेच ॥


तिम्रै हातले दागबत्ती दिएर जाऊ
नसके पनि घाटसम्म लिएर जाऊ
चन्दन तुलसी पिताम्बर चाहिन्न भो
पार्थिव कात्रो जाँदा जाँदे सिएर जाऊ ॥

15 October 2009

आमा ! तिमी मेरी आमा होइन (कविता)

यो माटोको कसम
हो आमा ! पक्का हो
तिमी मेरी आमा होइन
मात्रै कसैको नेकार चाकर अति श्रीमती
हो.... दश महिना गर्भमा बोक्यो
जन्मायौ, हुर्कायौ आफ्नै खेट्टामा उभ्ने बनायौ
तर…आमा हुनुको प्रमाण के छ ?
यदि छ भने भन…भन आमा
हो पक्का हो सत्य हो
म तिम्रै नसल हुँ, तिम्रै वंश हुँ
तर.....तरपनि.......
तिमीले मेरो अधिकार दिन सक्दैनौ
त्यो अधिकार दिन त बाउ चाहिन्छ
म नेपाली नागरिक हुनुमा,
तिम्रो ल्याप्चे छाप काम लाग्दैन
बाउ चाहिन्छ, बाउको नाम चाहिन्छ
यो कस्तो कानुन हो ?
आमा भएरपनि आमाहुन नपाउनु
आमा तिमी मेरी आमा हौ भने..
बाउ समानको अधिकार हुनु पर्छ
जन्म दर्ता मृत्यु दर्ता र नगरिकतामा
तिम्रो ल्याप्चे छापले काम गर्नु पर्छ
आमाहरुले आमा हुनुको अधिकार पाउनुपर्छ ॥

13 October 2009

राई वान्तावा भाषाको गजल

आन्कोङे धाहोन आन्कोङे ह्युहोन चासुमओ हेन्खाम्मा
नामछोङ्वा मान्लोन कुइँयामादा मासुमओ हेन्खाम्मा

अक्ताक्ङे बाखा अक्ताक्ङे नामहोन दिवापा दिवामा
साकुन्दी साया सुम्नीमा पारुहाङ लासुमओ हेन्खाम्मा

छभर ढिभर खोक्ली छे आन्को चोम्लुङमा चोम्चोरी
झारा दक्छा बुवा छेत्कुमा छेइवा हासुमओ हेन्खाम्मा

आन मुन्धुम हाक्सङ मङाप्ताकि मिखुङा अमुवा
खोन्नुछा बध्धे तायामी छायमी रासुमओ हेन्खाम्मा

आइङे तोक्मादात आप्पीओ बाखा आप्पीओ हाङहोन छे
यलम्बर गस्ती अटलिसंह तारि तासुमओ हेन्खाम्मा ॥

राई वान्तावा भाषाको गजल

चोमलुङमा ओत्नी साया चोङ्याङ्सा थिन्तिन्ने
बोक्ताखाराओ आनमक होङ्याङ्सा थिन्तिन्ने

यायोक मुसा आन्केन झारा अक् हुप्दा काम्सा
रिमी पाङमी दक्छाबुवा तोङ्याङ्सा थिन्तिन्ने

रिदुम पादुम आन हाक्सङ लाम्मादोत्त हान
तेनतेनदाङका दोङ दोङ्याङ्सा थिन्तिन्ने

खारु चोङ्सिन्ने ताया लोङ्सिन्ने आन्केन झारा
ओयाकदा आन ताया बोम्याङ्सा थिन्तिन्ने

हाङदुम दोवाङदुम मामायङओ अधिवाङ आन्केन
साकेन्वा लाक छाम दोवाङ थोम्याङ्सा थिन्तिन्ने॥

(नफुल्दै सयपत्री मखमली) गजल

नफुल्दै सयपत्री मखमली वैलाएर झर्यो बैनी
सँगै बसी फूलटीका लाउने आशा मर्यो बैनी

तिमी थियौ हाँसो खुशी सबै थियो जिन्दगीमा
आज तिमीसँगै हाँसो खुशी बसाइँ सर्यो बैनी

नाम मात्रको भाइटीका आउछ अनि जान्छ सधै
निष्ठुरी दैवले खै के यस्तो माया दया गर्यो बैनी

न त फूल्छन् फूलहरु न त आउछ देउसी भैलो
अभागीको भाग्य खोटो कुन भावीले भर्यो बैनी

न त आफ्नो फूलमाला न त कोही चेलीबेटी
भक्कानिदै विरहमा एक्लै रोई बस्नु पर्यो बैनी ॥

12 October 2009

दुई मुक्तक

(एक)
कतातिर हो नि कान्छा कुम्ला बोकेर
निल डाम जिउभरि सुम्ला बोकेर
आफ्नै गाउँघर सबै लावा लस्कर
आफै संग हुम्ला अनि जुम्ला बोकेर ॥

(दुई)
किन फुल्छ फूल भुवाँरालाई भुलाउन
फुल्दा फुल्दै ओइली झरी रुलाउन
झकी झकाउ महल बनाउनु थ्यो किन
भोलि एक्लो उजाड-उजाड तुलाउन ॥

लेख्दा लेख्दै ( गजल)

लेख्दा लेख्दै गजल मोती जन्मियो
मोतीका अघि पछि कोटी जन्मियो

प्रत्येक शेर प्रत्येक मिसरामा
रोल्पा रुकुम प्यारो डोटी जन्मियो

हिजो हिडेका पाइला पाइलामा
गजलगो हरेक चोटी जन्मियो

मत्लादेखि मक्तासम्म सयर गर्दा
गजलको नौलो-नौलो पोटी जन्मियो

उतराधुनिक नौलो-नौलो जनवादको
चन्द्र सूर्य माण्डवी ज्योती जन्मियो ॥

दुई मुक्तक

(एक)
सागरको आवेग घैलामा अटदैन कैले
गरीबको सपना थैलामा अटदैन कैले
महामारी अनिकालको महासंग्राम
एक झोक सुनामी दैलामा अटदैन कैले ॥

(दुई)
नानु बारम्बार तह नसोध
कैले नओभाउने गह नसोध
ज्वालामुखी दन्किरहेको बेला
भुलेर मनको वह नसोध ॥

दुई मुक्तक

(एक)
ढल्दो अन्धकार रात चर्को-चर्को
सम्झौता बिच विवाद चर्को-चर्को
वाचा कसमको सुन्दर सरोवरमा
मदहोशी त्यो आघात चर्को-चर्को ॥

(दुई)
तिमीसंग एक नजर फेकेर आए
दिलको हिरासतमा छेकेर आए
शिलान्यास अजम्बरी नाता साइनो
छेउ कुना मुटुभरि लेखेर आए ॥

(पुच्छर समाई) गजल

पुच्छर समाई चोक्टो घिचेछौ नि दाजु
अलिअलि गर्दै साध मिचेछौ नि दाजु

रिमोट कन्ट्रोल आफ्नो पेवा बनाई
हुकुमको बादशाह थिचेछौ नि दाजु

न्यू फोल्डारमा हर्पे ठेकी सेभएज गरी
वेभ केम्मा आफैलाई खिचेछौ नि दाजु

हर्डिक्स शैयामा मल्साप्रो इन्सर्ट गरी
सिरानी भाइरसले किचेछौ नि दाजु ॥

दुई मुक्तक

(एक)
लुगलुग मुटु कामेर रोए
परेलीमा आसु थामेर रोए
हररात हरप्रहर बीच
पलपल तरान छामेर रोए ॥


(दुई)
सहास गर मेरो साथ छ तिमीलाई
साह्रो गाह्रोमा मेरो हात छ तिमीलाई
कुनै चिन्ता नगर संसार हाम्रै हो
अधेरीमा जूनेली रात छ तिमीलाई ॥

(सुम्निमा पारुहाङको) गजल

सुम्निमा पारुहाङको आकाश खोज्नु छ
मुन्धुमको खरानी इतिहास खोज्नु छ

सयपत्री सुनखरी फुल्ने उद्यानमा
स्वयत्तताको मिठोमिठो सुवास खोज्नु छ

खोक्रो आदर्शको कल्कलाउदो ब्याडमा
समावेशी मन्जरी मधुमास खोज्नु छ

लेकबेसी डांडा पाखा सबै अटाउने
सार्वभौम गासबास कपास खोज्नु छ

चन्द्रसूर्य साक्षी राखी विश्व विजयको
संघीय गणतन्त्रको आभास खोज्नु छ ॥

दुई मुक्तक

(एक)
सयपत्री मखमली आफै फुल्ने रहर थियो
गाँउबेसी झुपडी नै सुन्दरसुन्दर सहर थियो
सुम्निमा पारुहाङको मुन्धुमभित्र मेरो पनि
एक डल्लो घाम उदाउछ भन्ने ठहर थियो ॥

(दुई)
धन सम्पतिको धाक नदेखाऊ
खोरमा पालेको बाघ नदेखाऊ
गल्लिको भुस्यहा कुकुर मरेर
गैंडाको अमूल्य खाग नदेखाऊ ॥

(सर्वभौम सत्ता) गजल

सर्वभौम सत्ता सरकार होसियार
मेचीकाली उठे छेकबार होसियार

छुट्ला लेकबेसी समावेशी आवाज
सारा रस्तिबस्ती घरबार होसियार

केस्रा-केस्रा फुल्नुपर्छ सबै भाषाभाषी
संविधानका सारा ठेकदार होसियार

अबोध बालक विधुवाको खुशी लुट्ने
भद्र भलाद्मी तरवार होसियार

आलै छन हिजोका बाचा कसमहरू
वरियताका पहुच्दार होसियार ॥